Publications

  • Home
  • Publications
  • संविधानसभाः कतारबासी नेपालीको अवस्था र माग (अर्जुन थापा संगको अन्तरवार्ता)

संविधानसभाः कतारबासी नेपालीको अवस्था र माग (अर्जुन थापा संगको अन्तरवार्ता)



संविधानसभाको मिति घोषणा भइसकेको अवस्थामा अझै पनि संविधानसभामा भाग लिन पाउनु पर्ने माग राखिरहनु भएको छ ,यस विषयमा प्रस्ट पारिदिनु न ?

प्रवासमा रहेका नेपालीले नेपालमा जनआन्दोलन-२ सुरु हुन पूर्व नै संविधान सभाको निर्वाचनमा भाग लिन पाउनुपर्छ भनेर आन्दोलन गर्दै आएका थिए । त्यसैगरी विदेशमा रहेर पनि हामीले लोकतान्त्रिक गणतन्त्रको पक्षमा आन्दोलन गर्दै आएका थियौ । निरंकुश राजतन्त्रको अन्त्य चाहेका थियौ । निरंकुश राजतन्त्रलाई केही मात्रामा भए पनि जनआन्दोलनले पछारेको छ तर यसलाई पूर्णरुपमा सदाका लागि नेपालबाट अन्त्य गर्न संविधानसभाको निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेका हौ । यो आवाजलाई हामीले प्रवासमा रहेर बुलन्दीका साथ उठाउँदै आयौ तर सरकारले कुनै सुनुवाई गरेन । विदेशमा रहेर आन्दोलन गरेका प्रवासी नेपालीहरुको चाहनालाई कुनै वास्ता नै गरेन । यस विषयमा हामीलाई साह्रै दुःख लागेको छ । नेपालमा हुने संविधानसभामा भाग लिन पाउनुपर्ने मागहरु उल्लेख गरिएको ज्ञापन पत्र र प्रवासमा रहेका नेपालीहरुको हस्ताक्षर कतारका राजदुतमार्फन नेपालमा पठाएका थियौ, तर यस विषयमा पनि कुनै सुनुवाई नै भएन । तसर्थ यसका विरुद्धमा कडा आन्दोलन गनुपर्ने निष्कर्षमा हामी आइपुग्यौ र सोही अनुसार अघि बढिरहेका छौ ।

तपाईहरुको माग नेपाल सरकारले पुरा गर्ला त ? के लाग्छ ?

हामीलाई लाग्छ, हाम्रा मागहरु नेपाल सरकारले पुरा गरेरै छाड्नुपर्छ । हामीले संविधानसभा मात्र नभएर प्रत्येक नेपालीको जीवनसँग सरोकार राख्ने हरेक पक्षका मागलाई आन्दोलनका क्रममा उठान गरेका छौ । हामीले पनि नेपालको जनआन्दोलन सफल पार्न आफ्नो ठाउँबाट सक्दो पहल गरेका छौ । यति गर्दा-गर्दै पनि हामीलाई आफ्नो न्यूनतम् अधिकारबाट वन्चित गराउने कार्य सरकाले गरेको छ । यो प्रवासमा बसेका नेपालीमाथिको ठूलो अन्याय हो । सरकारले यस विषमा बुझनुपर्छ । प्रवासी नेपालीमाथि पर्न जाने अन्यायबाट मुक्ति पाउनुपर्छ ।�

विदेशमा रहेका नेपालीहरुले कुन प्रक्रियाबाट संविधानसभामा भाग लिन सक्छन् जस्तो लाग्छ तपाईलाई ?

यो प्रक्रिया साह्रै सजिलो छ । अहिले अधिकांश देशमा राजदुतावास छ । त्यसको माध्यमबाट सजिलै मत खसाल्न सक्छन् । त्यसैगरी राजदुतावास नभएको ठाउँमा विद्युतीय सञ्चार माध्यमको प्रयोग गरेर पनि संविधानसभाको निर्वाचनमा मत खसाल्न सकिन्छ । यहाँ त सरकारले चाहनु मात्र पर्‍यो । सबै काम एकै छिनमा हुन्छ । यसका लागि हामीले यो पनि भनेका छौ कि यदि सरकार खर्चकै कारण प्रवासमा रहेका नेपालीहरुलाई संविधानसभाको निर्वाचनमा सहभागी गराउन नचाहेको हो भने त्यसका लागि लाग्ने खर्चको बारेमा हामी पनि सोच्न तयार हुन्छौ भनेको छौ । हामी त्यस विषयमा पनि सोच्न तयार रहनेछौ । यस विषयमा हामी सबै प्रवासीहरुले सरसल्लाह पनि गरेका छौ, किनकि यो संविधानसभाको निर्वाचन पटक-पटक हुने निर्वाचन जस्तो होइन । तसर्थ एक पटक हुने यस प्रकारको चुनावमा सहभागी हुन पाउनुपर्छ भन्ने हो । विदेशमा करिव एक चौथाई नेपाली जनता छन् । त्यसैले नेपालमा हुने संविधानसभको निर्वाचनमा सहभागी नगराउनु भनेको नेपाली जनताको भविष्यमाथि कुठाराघात गर्नु हो । त्यसैले यस विषयमा सरकारले गम्भीर भएर सोच्छ भन्ने हामीलाई लागेको छ ।

विदेशमा अर्थात कतारमा धेरै नेपालीहरु अवैध रुपमा गएका तथ्यङ्कहरु पनि छन् । अनी उनीहरुले चाहिँ संविधानसभामा कसरी सहभागिता जनाउछन् त ?

हो, यसमा समस्या छ । त्यसैले हामीले चाहन्छौ कि जून अहिले मेनपावरीकरण भएर नेपालीहरु बाहिर जाने गरेका छन् । यसलाई नेपाल सरकारले रोक्नुपर्छ । यो सरकारको जिम्मेवारी हो । सरकार यस विषयमा गम्भीर हुन अत्यन्तै आवश्यक छ । नेपाली कामदारलाई विदेश पठाउँदा नेपाल सरकारले नै पठाउनुपर्छ । यस विषयमा आफ्नो दायित्वबाट सरकार पछि हट्नु मिल्दैन । यस विषयमा तपाईहरुले पनि आवाज उठाइदिनु पर्‍यो । नेपालबाट दलाली प्रथाको अन्त्य हुनु पर्‍यो । हामी यो चाहन्छौ । आफ्नै देशमा पसिना बगाउन चाहन्छौ । कम मूल्यमा आफ्नो पसिना विदेशी भूमिमा बगाउन चाहँदैनौ । नेपाल सरकाले आफ्नै देशमा रोजगारीको व्यवस्था गरोस हामी यही चाहन्छौ । यदि यस्तो कार्य हुने हो भने विदेशी राष्ट्रमा नेपालीले पसिना बगाउनु पर्दैन । अब कुरा रह्यो निर्वाचनको यस विषयमा त विदेशी राष्ट्रलाई सरोकार नै हुने भएन नी । फेरी यसमा नेपाल सरकारले के चाहन्छ त्यो पो हुन्छ त । नेपाल सरकार अप्ठ्यारो पार्न चाहन्छ भने अप्ठ्यारो हुन्छ सजिलो चाहन्छ भने सजिलो हुन्छ ।

तपाईहरुको ठोस माग चाही के हो त ?

हाम्रो माग नेपालमै रोजगारीको व्यवस्था गरिनुपर्छ भन्ने हो । यदि नेपालमा रोजगारीको व्यवस्था सरकारले गर्न सक्दैन र विदेशमा नेपालीलाई पठाउनु नै पर्छ भने सरकार आफैले पठाओस् हामी मूलतः यो चाहन्छौ ।

कतारमा कति जति नेपाली छन्, कुनै तथ्याङ्क छ ? महिलाको कति र पुरुषको कति ?

हामीसँग त्यस्तो तथ्याङ्क त कुनै छैन । महिलाहरु त पछिल्लो समयमा मात्र विदेशमा काम गर्न जान थालेका हुन् । यसमा कति पुरुष कति महिला भन्ने विषयमा यति नै भनेर भन्न निकै कठिन छ ।

नेपालबाट कतार गएका नेपालीहरुले काम चाही के गर्ने गरेको पाइन्छ ?

महिलाहरुले बढी जसो घरको काम गर्ने गरेको पाइन्छ भने पुरुषहरुले घर बनाउने, सडक बनाउने, रङ्ग लगाउने, काठको काम गर्ने, होटल तथा रेष्टुरेन्टमा काम गर्ने गरेको पाइन्छ । यो कुरा चाँही पक्का हो की विदेशमा पुगेको नेपालीले आफ्नो योग्यता अनुसारको काम गर्न भने पाएका छैनन् ।

नेपालीहरुको हक अधिकारको रक्षा गर्ने सबै नेपाली एकजुट हुने भन्दै विभिन्न संघ संगठन अर्थात सम्पर्क केन्द्रहरु खोल्ने गरेका छन् तिनीहरुले चाँही के गर्छ नि ?

कतारमा अहिलेसम्म खोलिएका संस्थाहरु वा सम्पर्क केन्द्र मध्य राम्रोसँग काम गर्ने संस्था चाहिँ हाम्रो संस्था नै हो । यसले त्यहाँ रहेका हरेक नेपालीहरुको दुःखसुखमा साथ दिने र एक अर्कामा आइपरेका समस्यालाई समाधान गर्ने कार्य गर्दै आएको छ । त्यसैले हरेक नेपालीको मनमा यो समाज बस्न सफल भएको छ । अरुको बारेमा म केही भन्दिनँ ।