Publications

  • Home
  • Publications
  • गैरआवासीय नेपालीहरुले दोहोरो नागरिकता र आगामी संविधानसभाको निवार्चनमा मताधिकार गर्न पाउनुपर्छ भन्नेबारे तपाई र तपाईको पार्टीको के धारणा छ ?

गैरआवासीय नेपालीहरुले दोहोरो नागरिकता र आगामी संविधानसभाको निवार्चनमा मताधिकार गर्न पाउनुपर्छ भन्नेबारे तपाई र तपाईको पार्टीको के धारणा छ ?



गैरआवासीय नेपालीहरुले दोहोरो नागरिकता
गैरआवासीय नेपालीहरुले दोहोरो नागरिकता र आगामी संविधानसभाको निवार्चनमा मताधिकार गर्न पाउनुपर्छ भन्नेबारे तपाई र तपाईको पार्टीको के धारणा छ ?

देवराज आचार्य (चिरन) लण्डन
लण्डन नोभेम्बर, १

गैरआवासीय नेपाली दिवस अर्थात एनआरएन डेको अवसर पारेर हालै एनआरएन युकेको आयोजनामा एक बृहत् कार्यक्रम लण्डनमा सम्पन्न भएको छ । एनआरएनको कार्यक्रममा बढी राजनीतिक छलफल भएको भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यमले प्रसारण गरे तापनि वक्ताहरुले एनआरएनएनले उठाएका सम्पूर्ण मुद्दालाई भने सम्बोधन गरेका थिए । यसै सन्दर्भलाई लिएर नेपालबाट आउनु भएका विभिन्न पार्टीका नेताहरुसँग हाम्रा सम्वादाता तथा एनआरएन युकेका सदस्य देवराज आचार्य (चिरन) ले गर्नु भएको कुराकानीको आधारमा तयार पारिएको यो रिपोर्टः-

गैरआवासीय नेपालीहरुले दोहोरो नागरिकता र आगामी संविधानसभाको निवार्चनमा मताधिकार गर्न पाउनुपर्छ भन्नेबारे तपाई र तपाईको पार्टीको के धारणा छ ?

रामचन्द्र पौडेल, महामन्त्री नेपाली कांग्रेस
गैरआवासीय नेपालीसम्बन्धी ऐन अहिले छलफलको क्रममा छ । यसमा निकै संशोधनको खाँचो छ, छलफल भइरहेको छ । यस विषयमा नेपाली कांग्रेस सकारात्मक छ । गैरआवासीय नेपालीहरुले नेपालमा बैंक खाता खोल्न, जग्गा जमिन किन्न र लगानी गर्न पाउनुपर्छ र लगानीबाट प्राप्त आम्दानी आफूखुसी ल्याउन पाउनुपर्छ भन्ने मेरो धारणा छ । दोहोरो नागरिकताका सम्बन्धमा संविधानसभाको बेलामा छलफल गर्न सकिन्छ । तर, अहिले नै एक प्रकारको परिचयपत्र तुरुन्त दिन सकिन्छ त्यस परिचयपत्रको आधारमा गैरआवासीय नेपालीहरुलाई अन्य नेपाली नागरिकसरह आवत-जावत गर्नेलगायत अन्य कुरामा बराबर सुविधा दिनुपर्छ ।

सुवासचन्द्र नेम्बाङ्ग, सभामुख प्रतिनिधिसभा
गैरआवासीय नेपालीहरुको सीप, स्रोत र क्षमता नेपालको विकासमा सदुपयोग गर्ने एउटा आधार र वातावरण तयार हुनुपर्छ । त्यसका लागि नेपालका जिम्मेवार राजनीतिक नेताहरु, सरकार र संसद अहिले छलफल गरिरहेका छन् । यो दुवै विषयमा छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्नुपर्छ । संसदमा प्रस्तुत गैरआवासीय नेपालीसम्बन्धि विधेयकमा छलफल भैरहेको छ । यसले समयमा नै सार्थक निष्कर्ष निकाल्छ भन्ने मलाई विश्वास छ ।

कृष्णबहादुर महारा, प्रवक्ता नेकपा (माओवादी)
यो विषयमा हाम्रो पार्टीले आधिकारिक रुपमा निर्णय लिएको छैन । तर, हाम्रा पार्टीका मुख्य-मुख्य नेताको अनौपचारिक बैठकको छलफलबाट मताधिकार र दोहोरो नागरिकताको मुद्दालाई सकारात्मक रुपमा लिन सकिन्छ भन्ने निष्कर्षमा हामीहरु पुगेका छौं । नेपालमा पनि भिन्न प्रकृतिका नेपाली छन् र तिनीहरुको बर्गीकरण हुनुपर्छ । अनि यस विषयमा अरु छलफल र अध्ययन हुनुपर्छ । त्यसपछि मात्र हामी सकारात्मक रुपमा निर्णय लिन्छौ । आगामी दिनमा गैरआवासीय नेपालीहरुलाई हाम्रो पार्टी पूर्णरुपमा सहयोग गर्न तयार छ ।

प्रदीप नेपाल, स्थायी समिति सदस्य नेकपा (एमाले)
गैरआवासीय नेपालीहरुको मताधिकारको हक सुरक्षित हुनुपर्छ । त्यसका लागि राज्यले विभिन्न मुलुकमा आफ्ना निकायबाट मत संकलन गर्न आरम्भ गर्नुपर्छ । दोहोरो नागरिकताको विषयमा मेरो विचारमा नेपालको संविधानलाई पालन गर्नै हो भने व्यक्तिले स्वइच्छाले परित्याग नगरेको खण्डसम्म संविधानले कुनै पनि बंशजको आधारमा जन्मिएको नेपालीलाई अनागरिक बनाउन सक्दैन । तर, त्यो भन्दा अरु नै कारणले नगारिकता खोसिएको हो भने उसले सजिलै नेपाली नागरिकता पाउनुपर्छ ।

डा. मिनेन्द्र रिजाल, प्रवक्ता नेपाली कांग्रेस (प्रजातन्त्रिक)
दोहोरो नागरिकताको प्रश्न एकदमै महत्वपूर्ण प्रश्न हो । भारतलेसमेत ओभरसिज सिटिजन अफ इण्डिया भनेर ल्याएको छ । त्यसरी नै हामीले पनि यसलाई ल्याउन सक्छौं । मुख्य कुरा विदेशमा बस्ने नेपालीबाट मुलुकलाई निकै ठुलो आर्थिक फाइदा भएको छ । एनआरएनहरुको सहयोगमा अहिले देश चलेको छ । त्यस्तै गैरआवासीय नेपालीबाट देशमा ठूलो लगानीको सम्भवान छ त्यसलाई पनि अगाडि लैजानका लागि दोहोरो नागरिकताको प्रक्रिया अगाडि जानुपर्छ भन्ने मान्यता राख्दछु । मताधिकार पनि अत्यन्त महत्वपूर्ण कुरा हो । कसैलाई पनि मताधिकारबाट बन्चित गर्नु हुन्न । तर, संविधानसभाको निर्वाचन आगामी जेष्ठ महिनामा भएमा गैरआवासीय नेपालीलाई सहभागी गराउन अली समय अभाव हुन्छ कि जस्तो लाग्छ ।

शशी श्रेष्ठ, केन्द्रीय सदस्य जनमोर्चा नेपाल
गैरआवासीय नेपालीहरुले उठाएका विभिन्न मुद्दाका विषयमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । दोहोरो नागरिकता र मताधिकारलगायत अन्य सवालमा गैरआवासीय नेपाली संघले जुन कुराहरु उठाइरहेको छ, त्यसमा हाम्रो पार्टीकोतर्फबाट पूर्ण सहयोग र समर्थन रहनेछ ।