Publications

  • Home
  • Publications
  • एनआरएन एसिया प्यासिफिक क्षेत्रको हङकङ भेला उपलव्धीपूर्ण हुनेछ

एनआरएन एसिया प्यासिफिक क्षेत्रको हङकङ भेला उपलव्धीपूर्ण हुनेछ



डा. कुमार बस्नेतको जन्म काठमाडौंको थानकोट (वाड भञ्ज्याङ) सन् १९७४ मे ५ मा भएको हो । उहाँले सिद्धार्थ वनस्थलीबाट विद्यालयस्तरीय शिक्षा र जापानस्थित सोफिया विश्वविद्यालयबाट इलेक्टि्रकल इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा स्नातक, स्नातकोत्तर र पीएचडी गर्नुभएको छ । विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर हुँदै आउनुभएका डा. बस्नेतले जापानमा मात्र नभई विश्वव्यापी रुपमा विभिन्न संघ/संस्थाहरुको नेतृत्वदायी तहमा बसेर काम गरिसक्नु भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएन) का केन्द्रीय सदस्य रहनु भएका बस्नेत हङकङमा मे ६ र ७ तारिखमा हुने गैर आवासीय नेपाली संघ (एनआरएन) को एसिया प्यासिफिक क्षेत्रको भेलाको संयोजक समेत हुनुहुन्छ । प्रस्तुत छ, डा. बस्नेतसँग एफएन न्युजले विविध विषयमा गरेको कुराकानी ।

गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रको हङकङ भेलाको तयारी कस्तो छ ?

गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक भेलाको तयारी अत्यन्त द्रुत गतिमा अघि बढिरहेको छ । हङकङस्थित संघका केन्द्रीय सदस्यहरु प्रीतम श्रेष्ठ, गणेश इजनाम र कोषाध्यक्ष प्रकाश पुनलगायत एनआरएन हङकङका मित्रहरुको विशेष मेहनतका कारण हल व्यवस्थापन, विभिन्न देशबाट आउने गैर आवासीय नेपालीहरुको हङकङ भिषाको निवेदन दर्ता कार्य, भेलामा छलफल हुने एजेण्डाहरु निर्धारण आदि कामहरु लगभग सकिएका छन् । अब विभिन्न गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरुलाई कार्यक्रममा प्रस्तुत गर्न लगाइने विषयमा भने विचार विमर्श गरिरहेका छौं ।

यो भेला आयोजना गरिनुको मुख्य कारण र यसको एजेण्डाबारे स्पष्ट पारिदिनुस् न ?

यो भेला आयोजना गरिनुको मुख्य कारण भनेको एसिया प्यासिफिक क्षेत्रमा बसोबास गर्ने नेपालीहरुबीच नेटवर्कको विकास गरी उनीहरुको एजेण्डाहरुलाई मूलधारमा समावेस गर्नु नै हो । यस भेलाका एजेण्डाहरुमा एशिया प्यासिफिक क्षेत्रका राष्ट्रहरुमा बसोबास गर्ने नेपालीहरुका साझा समस्याको बारेमा अध्ययन, यस क्षेत्रबाट राष्ट्रलाई हुन सक्ने योगदान, यस क्षेत्रका अन्य राष्ट्रहरु सिंगापुर, मकाउ, चीन, भियतनाम, कम्बोडिया, इण्डोनेसिया, फिलिपिन्स, ब्रुनाई आदिमा गैर-आवासीय नेपाली संघका राष्ट्रिय समितिहरु गठन गर्ने बारेमा विचार विमर्श गर्नु, गैर-आवासीय नेपालीका लागि बनाइएको कानुनमा सुधार प्रस्ताव राख्ने, दोहोरो नागरिकता प्रणाली, बैदेशिक रोजगार सम्बन्धि कानुन, संविधानसभामा गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गर्ने, यस क्षेत्रमा रोजगारको अवसर, गैरआवासीय नेपाली संघको विधान संस्शोधनका लागि सुझाव दिने आदि विषयहरु एजेण्डा हुन र यसमा विभिन्न एसिया प्यासिफिक क्षेत्रहरुबाट भेला भएका गैरआवासीय नेपालीहरुले छलफल गर्नेछन् । केहि राष्ट्रिय समितिको स्थापनाको बारेमा पनि यसै भेलामा घोषणा गरिनेछ ।

यो भेलामा कति नेपाली सहभागी हुनेछन् र यसबाट तपाईहरुले के आशा गर्नुभएको छ ?

यो भेलामा जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, मकाउ, चीन र आयोजक राष्ट्र हङकङका गैरअवासीय नेपालीहरुको सहभागिता हुने पक्का भइसकेको छ । अन्य राष्ट्रहरु म्यान्मा, थाइल्याण्डबाट पनि सहभागिता हुने प्रवल सम्भावना छ । आयोजक राष्ट्रका नेपालीहरुको पनि उपस्थिति हेर्ने हो भने ठुलो संख्यामा गैरआवासीय नेपालीहरु यस भेलामा सहभागी हुनेछन् । गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष (एसिया प्यासिफिक) देवमान हिराचनको नेतृत्व र केन्द्रीय अध्यक्ष डा. उपेन्द्र महतोको प्रमुख आतिथ्यतामा सम्पन्न हुने यस भेलाबाट धेरै कुराको आशा गर्न सकिन्छ । सर्वप्रथम त यस किसिमको भेला यस क्षेत्रमा प्रथम हुनेछ जसले यस क्षेत्रका गैर आवासीय नेपालीहरुको एजेण्डामा छलफल गर्नेछ । यसबाट यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको नेटवर्क तयार हुनेछ जसले एनआरएन अभियान र राष्ट्रको सर्वाङ्गीण विकासमा ठुलो टेवा पुर्‍याउने छ । प्रवासबाट नेपालमा हुने रेमिटेन्सको पनि ठुलो भाग ओगट्ने यस क्षेत्रमा अहिले आएर उद्यमी, व्यवसायी, विद्यार्थी, विज्ञको संख्या पनि अत्यन्त बढेको छ । त्यसकारण यस भेलाबाट निस्कने निस्कर्षहरु अत्यन्त महत्वपूर्ण हुनेछन् ।

हालै एनआरएनको एउटा प्रमण्डलले नेपाल गई विभिन्न राजनीतिक दलका नेता तथा सरकारी अधिकारीहरुसँग भेट गरेको थियो त्यसलाई कसरी लिनु भएको छ, त्यसको उपलव्धी के हो भन्ने ठान्नु भएको छ ?

यसरी गरिने भेटघाटबाट हाम्रा एजेण्डाहरु सरकार समक्ष पुग्दछ । यो पक्कै पनि राम्रो कुरा हो । तर हाम्रा एजेण्डामा सरकार कहिले पनि गम्भीर भएको भने देखिदैन् । बजेट भाषणदेखि अन्य सरकारी तवरमा राष्ट्रिय बजेट नै रेमिटेन्सबाट चलेको छ भनिन्छ तर वास्तवमा भन्नु पर्दा त्यो रेमिटेन्स पठाउने प्रवासी नेपालीहरु नै सरकारद्वारा बेवास्ता गरिएको र अपहेलित भएको अवस्था छ । सरकारबाट सधै आश्वासनका कुरा हुन्छन् तर कार्यावन्यन पक्ष सधै कमजोर रहने गरेको छ । त्यसैले यस्ता भेटघाटका उपलब्धीहरु अवश्य आउलान् तर समय लाग्छ ।

लगानीको वातावरण, दोहोरो नागरिकता र संविधानसभा निर्वाचनमा भाग लिन पाउनुपर्ने मागहरुका बारेमा के भइरहेको छ ?

यी मागहरु सधै जस्तै हामीले राखिरहेका छौं तर सरकार मौन नै छ । लगानीको वातावरण र दोहोरो नागरिकताको कुरा त गत वर्षको बजेट भाषणमा पनि सम्बोधन भएका थिए । तर अहिलेको सरकारका लागि गैर आवासीय नेपालीहरु ठुलो एजेण्डा भएको हामीले पाएका छैनौं । यो समस्याको बारेमा विगतको सरकार र यस लोकतान्त्रिक सरकारबीच हामीले खासै फरक पाएका छैनौ । गैरआवासीय नेपालीहरुले आफ्ना एजेण्डाहरु अवगत गराउन नेताहरुलाई पनि विदेश बोलाएर अन्तरक्रिया गरेका छन् तर आश्वासनबाहेक केहि पाएका छैनन् । मैले सरकारको सोचाई गैरआवासीय नेपालीप्रति ज्यादै कन्जरभेटिभ रहेको पाएको छु । सरकार गैरआवासीय नेपालीका लागि खुला बन्न सकेको छैन जब कि छिमेकी राष्ट्र भारतले यस क्षेत्रमा धेरै कार्य गरेर गैर आवासीय भारतीयलाई आफ्नो अर्थतन्त्रको मेरुदण्ड बनाई सक्यो । हामी धेरै पछि परिसक्यौ ।

एनआरएनले दोहोरो नागरिकताको कुरा उठाएको छ, त्यस्तो नागरिकता आवश्यक पर्ने नेपाली विश्वमा कति होलान् भन्ने ठान्नु भएको छ ?

खास अहिले त धेरै नहोलान् किनकी दोहोरो नागरिकता लिनको लागि दुवै देशमा \\’दोहोरो नागरिकता दिने\\’ कानुन हुनुपर्छ । अहिलेका लागि यो अमेरिका, बेलायत, युरोपका केही देशहरु पर्छन् जस्तो लाग्छ । तर भविष्यमा दोहोरो नागरिकता अपनाउने देश धेरै हुँदै जानेछन् किनकी ग्लोबोलाइजेसनको यस अवस्थामा विश्व अर्थतन्त्रमा यसको ठुलो भूमिका हुनेछ । नेपालले दोहोरो नागरिकता लागू गरेमा नेपाललाई नै फाइदा हुनेछ किनकी यसले गैरआवासीय नेपालीहरुको नेपालसँग व्यापार, किनबेच, लगानी, आवतजावत ह्वातै बढ्नेछ । यसबाट नेपालले दिनु भन्दा बढी लिन पाउने छ ।

संविधानसभापछि सरेको छ, यसअघि जेठमा गर्ने भनिएकाले प्रवासी नेपालीलाई समेट्न सकिदैन भनिएको थियो, अब एनआरएनको कस्तो पहल हुन्छ ? र त्यसको विधि र एनआरएनको कस्तो खाले सहयोग रहनेछ ?

मैले पहिले नै भनिसकेको छु, सरकार गैरआवासीय नेपालीप्रति गम्भिर छैन । जब राष्ट्रिय अर्थतन्त्रमा गैरआवासीय नेपालीको त्यत्रो भूमिका छ र विविध विषयसँग सम्बन्धित नेपालीहरु प्रवासमा छन् जसको संख्या भारत, भुटानबाहेक १५ लाख भन्दा बढी छ । यस अवस्थामा पनि सरकार गैरआवासीय नेपालीहरुलाई बेवास्ता गर्न चाहन्छ । त्यसकारण एनआरएनको तर्फबाट जहिले पनि आफूहरुलाई समावेस गरियोस् भन्ने पहल सरकार समक्ष हुनेछ । तर हामी नेपालमा जस्तो हड्ताल, चक्काजाम, जुलुस गर्ने स्थितिमा छैनौ, त्यसले हाम्रो प्रयास कलमद्वारा नै सरकारलाई घचघच्याउने रहनेछ । एनआरएनले आफूले गर्न सक्ने सहयोग सबै गर्नेछ ।

स्मरणरहोस, लेवनानलाई इजाराइलले आक्रमण गर्दा हामीले त्यहाँ भएका नेपालीहरुलाई सहयोग गर्न विभिन्न कामहरु गरेका थियौं ।

संविधानसभामा प्रवासी नेपालीलाई मताधिकार दिनैपर्छ भन्ने कुनै महत्वपूर्ण कारण देख्नु भएको छ ?

वास्तवमा हामीले मताधिकार हैन, मत हाल्ने व्यवस्थाका कुरा उठाएका हौं । मताधिकार त हामीसँग छँदैछ । जसरी हुन्छ, प्रवासबाट मत हाल्ने व्यवस्था हुनु पर्‍यो भनेका मात्र हौं । जुन समूहले नेपाललाई समुन्नत राष्ट्र बनाउन प्रवासबाट लागिरहको छ, जुन समूहले नेपालका बुद्धिजीविको ठुलो अंश ओगट्छ, जुन समूहले राष्ट्रिय अर्थतन्त्रमा ठुलो भूमिका खेलिराखेको छ, त्यही समूहलाई बाहिर राखेर गरिएको निर्वाचनको निर्णय कस्तो होला ? संविधानसभाको निर्वाचन अन्य निर्वाचन भन्दा फरक छ, यसको महत्व बढी छ र समावेसी यसको लक्ष्य हो । यसरी त हामी समावेस नहुने भयौं नि त ? भारतले गैरआवासीय भारतीहरुलाई सांसदको कोटासम्म छुट्याइसकेको छ । यस अवस्थामा, हामीले गैरआवासीय नेपालीको हरेक क्षेत्रमा समावेसीकरण नखोजिनु चाहिं अवश्य राम्रो कुरा हैन । यस निर्वाचनमा गैरआवासीय नेपालीलाई समावेस गरियो भने अझ समुन्त नेपाल निर्माण हुनसक्छ, नयाँ नेपाल निर्माणको प्रथम अभियानमा हामीलाई राखियोस् भन्ने हाम्रो चाहना हो ।

तपाई एनआरएनको केन्द्रीय समितिमा जापानबाट प्रतिनिधित्व गरिरहनु भएको छ, जापानमा एनआरएनको गतिविधि कस्तो छ र एसिया प्यासिफिक क्षेत्रमा के कस्ता गतिविधि भइरहेका छन् ?

जापानको एनआरएनका गतिविधिहरु विगतमा पनि अत्यन्त राम्रा थिए र अहिले त झनै राम्रो भएको छ । यहाँका एनआरएनहरु नयाँ-नयाँ प्रविधिको विकास गरी कार्यक्रमहरु गर्ने गरेका छन् । कार्यक्रमहरु बौद्धिक, आर्थिक क्षेत्रलाई समेटेको, मनोरञ्जनात्मक रहेको पाइन्छ । एसिया प्यासिफिकमा बस्ने नेपालीहरु एनआरएनको छातामुनि आई विभिन्न खाले गतिविधिहरु गरिरहेका छन् । त्यसको एउटा उदाहरण एसिया प्यासिफिक भेला नै हो । एसिया प्यासिफिकको राष्ट्र अनुसार बौद्धिक, आर्थिक क्षेत्रलाई समेटेको र मनोरञ्जनात्मक कार्यक्रमहरु भइरहेको पाएको छु ।

आगामी अक्टोबरमा एनआरएनको तेस्रो विश्व सम्मेलन हुँदैछ, त्यसको तयारी कसरी अघि बढेको छ ?

अक्टोबरमा हुने तेस्रो विश्व सम्मेलन आयोजना गर्न केन्द्रीय उपाध्यक्ष -एसिया प्यासिफिक) देवमान हिराचनको संयोजनमा कार्यदल खडा भइसकेको छ । यसले अब तयारी सुरु गर्छ ।

यसअघिको दुई सम्मेलन र तेस्रो सम्मेलनमा केही भिन्नता हुने छ कि ?

यस सम्मेलनमा बढी राष्ट्रबाट बढी गैर आवासीय नेपालीहरुको सहभागिता रहने देखिन्छ । यस सम्मेलनले संस्थाको संरचना, नीति, यसको भावी योजना निर्धारण गर्नेछ जुन धेरै महत्वपूर्ण र विगतको सम्मेलनभन्दा फरक रहनेछ ।

नेपालमा आएको नयाँ परिवर्तनपछि तेस्रो विश्व सम्मेलनमा केही नयाँ एजेण्डाहरु आउने सम्भावना कत्तिको छ ?

हाम्रा पुराना एजेण्डा यथावत नै छन् । नयाँ एजेण्डाहरुका बारेमा विचार विमर्श भइराखेको छ । परिवर्तनपछि हाम्रा एजेण्डाहरुमा यस सरकारले बढी विचार विमर्श गरिदेला की भन्ने आशा भने केही पलाएको छ ।

एनआरएनमा विभिन्न विचार, वाद र धन भएका र नभएकाबीच विभेद छ भन्ने आरोप छ नि तपाईलाई के लाग्छ ?

वास्तवमा त्यस्तो होइन् । एनआरएन हाम्रो साझा संगठन हो । यसमा विभिन्न विचार भएका मानिसहरु हुनु स्वाभाविक नै हो । अर्को कुरा यस संस्थाले सबै गैरआवासीय नेपालीहरुका एजेण्डालाई लिएर अगाडि बढेको छ । त्यसै कारण सम्मेलनमा भाग लिने मानिस, कार्य समितिमा बस्ने मानिसहरुलाई हेरेर यस्तो आरोप लागेका हुन सक्छन् तर काम जसले गरे पनि यो हामी सबै गैरआवासीय नेपालीका लागि हो भनेर बुझ्नुपर्छ र आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

विश्वमा नेपालीहरुका धेरै संघ/संस्था छन्, तिनीहरुलाई एनआरएनले समेट्न सकेको देखिदैन, एनआरएन तिनीहरुको पनि छाता संस्था बन्न सक्ने सम्भावना कत्तिको छ ?

एनआरएन सबै गैरआवासीय नेपालीहरुको साझा संस्था हो, छाता संस्था भन्न मिल्दैन जस्तो लाग्छ मलाई । हाम्रो भनाई हामी सरकार समक्ष आफ्ना मागहरु लिएर जाँदा एक भएर सामूहिक रुपमा जाउँ भन्ने नै हो, हाम्रो सामुहिक स्वर बलियो हुन्छ र सबै त्यस स्वरलाई सुन्न बाध्य हुन्छन् भन्ने हाम्रो भनाइ हो ।

एनआरएनको दोस्रो सम्मेलनमा तपाई केन्द्रीय समितिमा निर्वाचित हुनु भएको थियो, अब तेस्रो सम्मेलन हुँदैछ यो बीचमा के के गर्नु भयो ?

यसमा मैले के गरे भन्दा पनि हाम्रो कार्य समितिले के गर्‍यो भन्नु उचित होला । पहिलो त दोस्रो विश्व सम्मेलनपछि हाम्रा शाखाहरु धेरै राष्ट्रहरुमा बढेका छन् । हाम्रा केन्द्रीय सदस्य जीवा लामिछानेको संयोजनमा एनआरएन देवघाट बृद्धाश्रम पनि बन्दैछ, लगानीहरु पनि भित्रिएका छन्, जलस्रोतमा लगानी बढेको छ । संस्था संरचनामा पनि विकास भएको छ भने यस संस्था र एनआरएन अभियानको महत्वको बारेमा धेरै मानिसले बुझ्न थालेका छन ।

अन्त्यमा फ्री नेपाल डट कममार्फत आम नेपाली त्यसमा पनि विशेष गरी प्रवासी नेपालीहरुलाई केही भन्न चाहनु हुन्छ कि ?

स्वदेशमा रहने दाजुभाइ दिदीबहिनीहरुलाई यो अवगत गराउन चाहन्छु की, हामी प्रवासमा बसोबास गर्ने नेपालीहरुलाई देशको, यहाँहरुको उत्तिकै माया छ, हामीलाई कहिले पराई नमान्नुहोला । प्रवासमा बस्ने दाजुभाइ दिदीबहिनीहरुमा यो अनुरोध छ की हामी यसरी प्रवास आएर व्यापार, व्यवसाय, अध्ययन गर्न पाउनु ठुलो अवसर हो, त्यसैले यस समयको सहि सदुपयोग गरी जन्मभूमि र कर्मभूमि दुवैको सेवा गरौं ।