News

  • Home
  • News
  • राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्र मन्त्री र महिला तथा बालबालिका मन्त्रीसंग भेटघाट

राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्र मन्त्री र महिला तथा बालबालिका मन्त्रीसंग भेटघाट



२३ कार्तिक, काठमाण्डौं । गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मण्डलले नवनियुक्त सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेको छ । सो अबसरमा एनआरएन अध्यक्ष शेष घलेले सम्मानीय राष्ट्रपतिलाई हार्दिक बधाई तथा शुभकामना दिनुहुँदै नेपालले प्रथम महिला राष्ट्रपति पाएकोमा समग्र महिलाहरुको आत्मविश्वास बढेको र यस कार्यले महिलाहरुमा थप उर्जा मिलेको वताउनु भयो ।

 

हाल नेपालले सामान गर्न परेको यस अकल्पनीय समस्या तथा त्यसले निम्त्याएको मानविय पीडा न्यूनिकरण गर्न संघ त्तपर रहेको र यस बिषयमा बिभिन्न निकायहरुसंग छलफल गरी आवश्यक वातावरणको लागि पहल गरिदिन समेत अनुरोध गरेको सम्माननीय राष्ट्रपतिलाई अध्यक्ष घलेले जानकारी गराउनु भयो । सो अवसरमा संघकी महिला उपसंयोजक रजनी प्रधानले संघले विदेश तथा स्वदेशमा रहेका महिलाहरुका बिकासका लागि तथा महिला हकहितका लागि गर्दै आएको र आगामी दिनमा गर्ने कार्ययोजनाहरुबारे अवगत गराउनु भयो । सम्माननीय राष्ट्रपतिले खासगरी खाडी मूलुकमा रहेका महिलाहरुको संवेदनशिलतालाई ध्यान दिन अनुरोध गर्नु भयो । राष्ट्रपतिज्यूले गैरआवासीय नेपालीहरु प्रति राष्ट्रले निकै आशा र भरोसा गरेको र उनीहरुको माग पनि केहिहद सम्म नयाँ बनेको संविधानले संवोधन गरेको औंलाउँदै राष्ट्रलाई आत्मनिर्भर बनाउनुको बिकल्प नरहेको र यस दिशामा अग्रगामी तथा नेतृत्वदायी भूमिका खेल्न गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो । सो अवसरमा प्रतिनिधि मण्डलका सहभागीहरुले यस प्रकारका समस्याहरुबाट पाठ सिकेर आगामी दिनमा राष्ट्रलाई कसरी आत्मनिर्भरतातर्फ डोराउन सकिन्छ र यसलाई प्रोहत्सान गर्ने नीति तथा कार्ययोजनाहरु अघि बढाउन पर्ने औंलाउँदै नेपाली बस्तुहरु नेपालमै प्रशोधन गरी ‘भ्यालू एड’ गर्ने योजनाहरु अघि बढाउनु पर्ने सुझावहरु दिए । जलस्रोतको धनी नेपालले यसको बिकास र नेपालमै उपभोगमा जोड दिन समेत सहभागीहरुले अनुरोध गरे ।

 

संघका अध्यक्षद्वारा प्रधानमन्त्रीसंग भेट

कार्तिक २४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरी भारतीय नाकाबन्दीका कारण देशमा आई परेको बिषम् परिस्थिति र यसले निमत्याएका मानविय समस्याहरु न्यूनिकरण गर्न संघले कस्तो भूमिका खेल्न सक्छ भन्ने बिषयमा छलफल गर्नु भयो ।

 

 

अध्यक्ष घलेले संघको विश्वभर रहेको संजालको उपयोग गरी नेपालले भूकम्पको पीडाबाट पार नपाउँदै यस अघोषित नाकाबन्दीले निमत्याएको मानविय पीडा तथा क्षति र यसको औचित्यबारे विश्व समुदायमाझ जानकारी गराई यस औचित्यहिन नाकाबन्दी तत्काल अन्त्य गर्न माग गर्ने जानकारी गराउनु भयो । यसैगरी उहाँले नेपालमा देखा पर्न लागेको अत्यावश्यक औषधी तथा समाग्रीहरु अभावलाई केहि मात्रामा भएपनि न्यूनिकरण गर्न हवाईमार्गबाट नेपाल भित्राई सहयोग गर्न संघले आवश्यक पहल थालेको वताउनु । अध्यक्ष घलेले हिउँद याम आउन लाग्दा समेत भूकम्प पीडितहरुलाई उचित आवासको व्यवस्था मिलाउन नसकेको र संघले १००० आवास गृह बनाउन सरकारसंग सम्झौता गरे पनि उचित कार्यविधिको अभावमा यसलाई तत्काल कार्यान्वयनमा ल्याउन ढिलाई भई रहेको जानकारी समेत गराउनु भयो । प्रधानमन्त्रीले अहिले आफ्नो सम्पूर्ण ध्यान नाकाबन्दीलाई कसरी फूकाउने तथा यसको प्रभावलाई कसरी न्यूनिकारण गर्नेमा केन्द्रीत रहेको र आगामी दिनमा पुन:निर्माण प्राधिकरण गठन गरी पुन:निर्माण कार्यलाई गति दिने जानकारी गराउनु भयो । पुन:निर्माण कार्यमा सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा रकम जम्मा नगरी सरकारको अनुमतिमा सम्बन्धित सहयोगकर्ताले सिधै पुन:निर्माण कार्यमा संलग्न हुन समेत सक्ने जानकारी गराउँदै पुन:निर्माण प्राधिकरण गठन पश्चात पुन:निर्माण कार्यविधि बनाई अगाडि बढ्ने वताउनु भयो । संघको संजाल प्रयोग गरी विश्वलाई यस औचित्यहिन अघोषित नाकाबन्दी, यसको मानविय पीडा तथा क्षतिबारे जानकारी गराउने उदेश्य समसामयिक भएको र यसले नेपाललाई लाभ हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

 

उपप्रधान तथा परराष्ट्र मन्त्रीसंग भेट

कार्तिक २३ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको एनआरएन प्रतिनिधिमण्डलले उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापासंग भेट गरी मातृभूमीले भोगेको यो बिषम् परिस्थितिमा सहयोग गर्नेबारे छलफल गरेको छ ।

 

 

गैरआवासीय नेपाली संघले जीवन रक्षाका लागि स्वास्थ्य सम्बन्धि केही अत्यावश्यक औषधीहरु तथा अन्य मानव कल्याणकारी सामग्रीहरु उपलव्ध गराउने योजना बनाएको हुँदा हाल कस्ता किसिमका कति परिणाममा अति आवश्यक वस्तुहरु चाहिने हो, सो को विवरण उपलब्ध गराईदिन संघका अध्यक्षले उपप्रधान मन्त्री थापाललाई अनुरोध गर्नु भयो । अध्यक्ष घलेले संघको विश्वभर विभिन्न मूलूकहरुमा रहेको संजालमार्फत संयुक्त रुपमा एकै समयमा एक वक्तव्य निकाली विश्वभरका राष्ट्र तथा समुदायहरु, त्यहाँ रहेका भारतीय समुदाय तथा दूतावासहरुमा यस अघोषित नाकाबन्दीले पुराएको मानविय पीडा तथा क्षति र यसको औचित्यबारे जानकारी गराउने तथा यस अमानविय नाकाबन्दी तत्काल अन्त्य गरी मानविय संवेदनशिलतालाई प्रथामिकतामा राख्न अनुरोध गरिने जानकारी गराउनु भयो । सो अवसरमा उपप्रधान मन्त्रीले संघको सहयोग गर्ने चहाना प्रति अभार प्रकट गर्दै संघको यस भावनाले आफू निकै प्रभावित भएको र संघले माग गरे अनुसारका विवरण सम्बन्धित निकायहरुबाट संकलन गरि छिट्टै संघलाई उपलब्ध गराउन समेत निर्देशन दिनु भयो । उहाँले संघको बिश्वभर फैलिएको संजालको उपयोग गरी यस अमानविय नाकाबन्दीले सिर्जना गरेको मानवीय सम्स्या र यसको कारणबारे बिश्व समुदायमा जानकारी गराउने संघको योजना समयसापेक्ष भएको र यसको लागि धन्यवाद तथा शुभकामना समेत दिनु भयो । संघको भरखरै सम्पन्न सातौं विश्व सम्मेलनको उच्चस्तरिय आयोजक समितिको  अयोजक समितिका अध्यक्ष भएतापनि देशमा आईपरेको यस बिषम् परिस्थितिका वावजुत आफू समापन समारोहमा सहभागी हुन नसकेपनि त्यसमा भएका घोषणाहरुको कार्यान्वयनमा सहयोग गर्न मन्त्रालय तयार रहेका वताउँदै कार्यसमितिमा चुनिएका सम्पूर्ण पदाधिकारीहरुलाई वधाई दिनु भयो । अन्त्यमा संघका अध्यक्षले घोषणा पत्रमा ‘डेभलपमेन्ट कमप्याक्ट’ जस्ता संवेदनशिल र दीर्घकालीन महत्व राख्ने बिषयहरु समावेश गरिएकाले एक संयुक्त घोषणा कार्यान्वयन समितिको गठन गर्नुपर्ने सुझाव राख्दै यस समितिले दुई बर्षको मात्र नभई अझ बढी समयको लागि रणनीतिक मार्गचित्र तयार गरी त्यसको कार्यानव्यनमा अग्रसर हुनुपर्ने बताउनु भयो ।

 

उपप्रधान  तथा महिलाबालबालीका तथा समाजकल्याण मन्त्रीसंग भेट

कार्तिक २३ का दिन गैरअवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका पदाधिकारीहरुले उपप्रधान मन्त्री तथा महिला, बालबालीका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकास(सीपी) मैनालीसंग भेट गर्‍यो ।

 

 

सो अवसरमा अध्यक्ष घलेले नवनियुक्त उपप्रधान मन्त्रीलाई संघको तर्फबाट वधाई दिंदै यस संवेदनशिल घडीमा राष्ट्रलाई हरप्रकारको सहयोग गर्न र यसको सामना गर्न एकाबद्ध रहेको अध्यक्षले वताउनु भयो । अध्यक्ष घलेले संघको विश्वभर रहेका गैरआवासीय नेपाली महिलाहरुलाई संगठित गरी स्वदेश तथा बिदेशमा रहेका महिलाहरुका हकहित तथा उत्थानका लागि परिचालित हुन छुट्टै महिला अंग रहेको र यसले खाडी मूलुकहरु तथा स्वदेशमा रहेका महिलाहरुको बृहत्तर बिकासका लागि बिभिन्न परियोजनाहरु संचालन गरिरहेको जानकारी गराउनु भयो । स्थापनाकाल देखिनै संघले संस्थागत तथा बिभिन्न गैरआवासीय नेपालीहरुले ब्यक्तिगत रुपमा कल्याणकारी परियोनाहरुमा थुप्रै लागानी गर्दै आएको जानकारी गराउनु भयो । यस्ता काम संघ तथा गैरआवासीय नेपालीहरुले निरन्तर गरिरहने कार्य भएको र बालबालिकाको शिक्षा क्षेत्रमा पनि संघ सक्रिय रहेको अवगत गराउँदै भूकम्पवाट क्षतिग्रस्त भएका विद्यालयहरुको पुन:निर्माणमा सहयोग गर्ने संघको लक्ष्य रहेको वताउनु भयो । उपप्रधानमन्त्रीले संघको मातृभूमिलाई आईपरेको यस कठिन र संवेदनशिल घडिमा सहयोग गर्ने अठोटले आफूलाई निकै भावुक बनाएको र यसको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । भूकम्प पछिका समयमा संघ प्रतिको जनसाधरणहरुका आशा निकै जागेको र त्यस समय संघले गरेका कार्यहरुबाट आफू निकै प्रभावित भएको र त्यस मानविय कार्यप्रति संघलाई धन्यवाद दिनुभयो । यस मन्त्रालयसंग संघले धरैनै सहकार्य गर्न सक्ने क्षेत्रहरु रहेको र आपसी संवादबाट त्यस्ता क्षेत्रहरुको पहिचान गरी नेपाली महिला तथा बालवालिकाको बिकासका लागि धेरै काम गर्न सकिने धारणा राख्दै खाडी मूलूकमा कामको शिलसिलामा गएका महिलाहरुको शिप बिकास तथा सुरुक्षामा सहयोग गर्नुका साथै कामको खोजीमा महिलाहरुलाई बिदेश जान पर्ने वाध्यताबाट समेत मुक्त गर्न उपयुक्त अवसरहरुको बिकास स्वदेशमै गरिदिन समेत आग्रह गर्नु भयो ।

गैरआवासीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।