News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलन

गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलन



गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित: प्रधानमन्त्री ओली
गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताउनु भएको छ । मुलुकको विकासका निम्ति प्रविधि तथा ज्ञानको प्रयोग गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले ज्ञान, सीप र प्रविधिको विकास अब नेपाल आफैले गर्ने र आवश्यक प्रविधि भित्र्याउने बताउनुभयो ।
शुक्रबारदेखि भर्चुअल माध्यमबाट सुरु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै देश समृद्ध र सक्षम बनाउन चाहने एनआरएनको सोचलाई सरकारले उत्साहका साथ लिइरहेको बताउँदै सबैको सोच, सहयोग, ज्ञान र सीपले नै नेपाल समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली अर्थतन्त्र अझै सक्षम भई नसकेकाले बाहिरी लगानी भित्र्याउन आवश्यक रहेको र त्यसमा एनआरएनएले महत्वपूर्ण भूमिका खेल्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । गैर आवासीय नेपाली संघले उठाएको माग सरकारले पूरा गर्नेक्रममा रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय अघि बढिसकेको जानकारी गराउनुभयो । यसैगरी सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा रहेको बताउंदै प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला जनतालाई केही अप्ठ्यारो नहोस् भन्नेमा सरकारले पूर्णतस् ध्यान दिइरहेको बताउनुभयो ।
यसैगरी परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले कोरोना महामारीले बहुआयामिक चुनौती थपिएको भन्दै त्यो चुनौतीको सामना गर्न विश्वभर छरिएर रहेका उर्जावान नेपालीहरुको सहयोग अपरिहार्य हुने बताउनुभयो । नेपालभित्र रहेका सम्भावनालाई उजागर गरेर मात्रै आर्थिक उत्थान गर्न सकिने भन्दै उहाँले नेपाली विज्ञहरुलाई स्वदेशमा त्यस्ता सम्भावनाको खोजी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति डा। रामकण्ठ माकाजूले सम्मेलनमा सहकार्य गर्न पाएकोप्रति खुशी व्यक्त गर्दै विज्ञ सम्मेलनले नेपाल र नेपाली एवं विदेशी विज्ञबीच ज्ञान तथा प्रविधिको आदानप्रदानमा पूलको काम गरेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले गैरआवासीय नेपालीले नेपालको अर्थतन्त्र चलायमान बनाई समृद्ध मुलुकको सपना पूरा गर्न एनआरएनएसँग सहकार्य गर्न नीजि क्षेत्र तयार रहेको बताउनुभयो । उहाँले चुनौती देखाउने मात्रै नभई सम्मेलनमार्फत अवसरको खोजी गर्न सुझाउनुभयो ।
एनआरएनएका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले मातृभूमिलाई यतिबेला ज्ञान, सीप र बौद्धिकताले अघि बढाउनुपर्ने बेला भएकोले त्यही आवश्यकता पूर्ति गर्न सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली विज्ञ तथा उद्यमीहरुले स्वास्थ्य र कृषि क्षेत्रमा ठोस योजना ल्याए त्यसको लागि पूँजी संकलनको जिम्मा आफूले लिने उहाँले स्पष्ट पार्नुभयो ।
एनआरएनएका पूर्व अध्यक्ष एवं संरक्षक जीवा लामिछानेले अहिलेको युगमा ज्ञान प्रविधि र सीप हस्तान्तरण विकासको लागि महत्वपूर्ण हुने बताउनुभयो । देशको समग्र विकासमा आर्थिक पूँजी जस्तै बौद्धिकता, विज्ञान र प्रविधि आवश्यक पर्ने बताउंदै लामिछानेले ज्ञानमा आधारित अर्थतन्त्रको निर्माणका लागि गैरआवासीय नेपालीसँग रहेको ज्ञान सीप र प्रविधि तथा मानव संशाधन प्रयोग गर्न अहिले महत्वपूर्ण समय रहेको जनाउनु भयो । कोरोनाले प्रभावित अर्थतन्त्र उकास्न गैरआवासीय नेपाली विज्ञहरुको भूमिका अपरिहार्य हुने उहाँको भनाई थियो । उहाँले नीति निर्माण तहमा गैरआवासीय नेपाली विज्ञहरुलाई समेत सहभागी गराउन सरकारसँग आग्रह गर्नुभयो ।
एनआरएनका पूर्व अध्यक्ष एवं संरक्षक देवमान हिराचनले एनआरएनए संस्था मात्रै नभई एक अभियान भएकोले स्वदेशका लागि केही गर्ने समय आएको बताउनुभयो । उहाँले समृद्ध मुलुकको सपना पूरा गर्न गैरआवासीय नेपालीको ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्न सबैलाई आह्वान गर्नुभयो ।
एनआरएनएका पूर्व अध्यक्ष तथा संरक्षक डा। शेष घलेले कोरोना महामारीको कहरबाट जुध्दै गरेको मातृभूमिलाई आफ्नो तर्फबाट जे जसरी हुन्छ सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले कुरा भन्दा पनि काम गरेर देखाउने बेला भएकोले स्थानीय स्तरमा प्रभावकारी हुनेखालका र कार्यान्वयन गर्न सकिने खालका उपलब्धिमूलुक योजना ल्याउन आग्रह गर्नुभयो । सम्मेलनले कार्यान्वयनमुखी योजनामाथि घनीभूत छलफल गर्ने उहाँको विश्वास थियो ।
एनआरएनका पूर्व अध्यक्ष भवन भट्टले विश्वव्यापीकरणको यस युगमा संसारभरका नेपालीले आर्थिक र बौद्धिक समृद्धिलाई अघि बढाउन एनआरएनएको महत्वपूर्ण भूमिका औंल्याउनुभयो । उहाँले पहिलो विश्व ज्ञान सम्मेलनका सुझावको श्वेतपत्र सरकारलाई बुझाएको र त्यसको केही हदसम्म कार्यन्वयन भएको बताउँदै यस सम्मेलनमा विगतमा भएका कार्यन्वयनको समीक्षा गर्दै दोस्रो सम्मेलनका सुझाव कार्यान्वयनमा समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधि स्वदेशमा भित्र्याउन सम्मेलन कोशेढुङ्गा हुने बताउनुभयो । विदेशमा रहेपनि स्वदेशको समृद्धिमा हातेमालो गर्ने चाहना हरेक गैरआवासीय नेपालीको रहेको उहाँले बताउनुभयो । एनआरएनएको लगानी पूँजी मात्रै नभई भावना पनि भएको भन्दै उहाँले विदेशमा आर्जन गरेको ज्ञान, सीप एवं पूँजीलाई एकीकृत र संगठित पार्दै मातृभूमिको हितमा अत्यधिक रुपमा प्रयोग गर्न संघले काम गरिरहेको जनाउनु भयो ।
एनआरएनका महासचिव डा। हेमराज शर्माले गैरआवासीय नेपाली भौतिक रुपले टाढा भएपनि भावनात्मक हिसावले सदैव स्वदेशसँगै जोडिएको बताउँदै नेपाल बाहिर रहेको विज्ञता मुलुकको समृद्धि र विकासका लागि प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
एनआरएनए महिला उपाध्यक्ष रविना थापाले गैरआवासीय नेपाली जहाँ बसेपनि स्वदेशप्रतिको जिम्मेवारीबाट कहिले पछि नहटेको बताउनुभयो । मुलुकमा जतिजति बेला संकट आउँछ त्यति बेला एकजुट भएर अघि बढेको उहाँको भनाइ थियो । कोरोना कहरमाझ पनि गैरआवासीय नेपालीहरुले सकेसम्मै सहयोग गरिरहेको उहाँले बताउनु भयो ।
आइतबारसम्म चल्ने तीन दिने विज्ञ सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् । साथै २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन् । विशेषतस् कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुनेछ । संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औं पञ्चवर्षीय योजनासंग सम्बन्धित विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा भै रहेको सम्मेलनमा काठमाडौ विश्वविद्यालयको सहकार्य रहेको छ । परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु र नेपालसंग जोडिएका विदेशी विज्ञहरु सहभागी भै रहेका छन् ।