मानव बेचबिखन विरुद्ध एनआरएनद्वारा अन्तर्राष्ट्रिय संस्थाहरुसंग साझेदारी
काठमाण्डौ । बिदेशमा नेपाली नागरिकहरुको बेचबिखनलाई निस्तेज गर्न गैरआवासीय नेपाली संघले इन्टरपोलसहित बिभिन्न संघसंस्थाहरुसंग साझेदारी सुरु गरेको छ । मानव बेचविखन र संगठगित अपराध रोक्नेबारे काठमाण्डौमा आयोजित अन्तराष्ट्रिय सम्मेलनका दौरान गैरआवासीय नेपाली संघले इन्टरपोल, नेपाल प्रहरी, अमेरिका, अष्ट्रेलिया तथा इण्डोनेसियाका सरकार सम्मलित संजालमा साझेदारी गर्न हस्ताक्षर गरेको छ ।
सम्मेलन समापनको दिन बिहीवार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्झौतामा हस्ताक्षर गर्नुभयो । ‘काठमाण्डौ प्रोसेस’ नामक यो सम्झौतामा हस्ताक्षर गरेपश्चात गैरआवासीय नेपाली संघ मानव बेचबिखनविरुद्धको अभियानमा औपचारिक साझेदार बनेको छ । ‘खाडी मुलुक, थाइल्याण्ड र अफ्रिका लगायतका मुलुकमा बेचबिखनका कारण पीडित नेपालीहरुलाई उद्दार गर्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्ले अहिले पनि काम गरिरहेका छन् ।’ सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष घलेले भन्नुभयो–‘अब हामी औपचारिक साझेदार बनेका छौं, सवैको संयुक्त प्रयासबाट मानव बेचबिखनजस्तो गम्भिर अपराधलाई निस्तेज गर्नुपर्छ ।’ गैरआवासीय नेपाली संघ वा अन्य कुनै संस्थाको एकल कोसिसबाट यस्तो संगठित अपराध रोक्न नसकिने भन्दै अध्यक्ष घलेले इन्टरपोल, नेपाल प्रहरी लगायत बिभिन्न मुलुकका सरकारको संयन्त्रबाट अपराध रोक्न सजिलो हुने बताउनुभयो । गैरआवासीय नेपालीहरुले अहिले पीडित नेपालीहरुलाई उद्दार गर्ने, राहतस्वरुप रकम संकलन गरेर नेपालसम्म फर्काउने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । आफुले अफ्रिकी मुलुकहरुसम्म पुगेर नेपाली चेलीको बेचबिखनको डरलाग्दो दृष्य देखेको भन्दै घलेले त्यस्तो अपराधन नियन्त्रणका लागि संघले आफ्नो संजाललाई सक्रियतापूर्वक परिचालन गर्ने बताउनुभयो । तीन दिने सम्मेलनमा बिभिन्न सातवटा मुलुकका प्रहरी अधिकारी तथा बिभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
गैरआवासीय नेपाली संघको सचिवालय,
काठमाण्डौ ।
२०७२ असोज २१